काठमाडौँ- १६ औँ संस्करणको यूरो कप अन्तर्गत क्वाटरफाइनलक खेलहरु हिजोदेखि शुरु भएको छ । हिजो राति र आज विहान भएका दुईवटा खेलमा स्पेन र इटाली सेमीफाइनलमा प्रवेश गरेका छन ।

आज बिहान सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा इटालीले बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गरेको छ । जर्मनीको एलियान्ज ऐरेनामा सम्पन्न खेलमा चारपटकको विश्वकप विजेत इटालीले शानदार खेल प्रस्तुत गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो हाफको १३ औँ मिनेट मै गरेको गोल भिएआरलाइ मान्य नभएपछि इटालीले खेलको ३१ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेको थियो । पहिलो हाफमा निकै बलियो देखिएको इटालीले खेलको ४४ औँ मिनेटमा अर्को गोल गर्दै अग्रतालाइ दोब्बर बनाएको थियो ।

तर पहिलो हाफको अतिरिक्त समयमा डि बक्सभित्र फल गरेबापत बेल्जियमले पाएको पेनाल्टीलाइ रोमेलु लुकाकुले गोल गर्दै खेलमा फर्कने बाटो बनाएको थियो । दोस्रो हाफमा भने दुवै टोलीले निकै आक्रामक खेल खेलेपनि गोल हुन नसक्दा इटालीले विश्व नम्बर १ को बेल्जियमलाइ २-१ गोलले पराजित गरेको हो । यस जीतसँगै इटालीले अब इङलयान्डको वेम्बली मैदानमा स्पेनसँग सेमिफाइनल खेल खेल्नेछ ।

यसैबीच , गएराति सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा स्पेनले स्विटजरल्यान्डलाइ पेनाल्टी सुटआउटमा ३-१ गोलले पराजित गरेको छ । पहिलो हाफको ८ औँ मिनेटमा स्विस खेलाडी जकरियाको आत्मघाती गोलबाट सन् २०१० को विश्वकप विजेता स्पेनले अग्रता लिएको थियो ।

तर दोस्रो हाफको ६८ औँ मिनटमा स्विस कप्तान जेर्दान शाकिरिले गोल गर्दै खेललाइ बराबरीमा पुर्याएका थिए । खेलको ७७ औँ मिनेटमा स्विस मिडफिल्डर रेमो फ्रेउलरले रातो कार्ड खाँदै मैदान बाहिरिएपछि स्विटजरल्यान्ड १० खेलाडीमा सिमित हुन पुग्यो ।

निर्धारित समय र थप अतिरिक्त समयमा पनि १ – १ गोलको बराबरीमा टुङ्गिएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो । स्विस ३ खेलाडीहरुले आफ्नो पेनाल्टीमा गोल गर्न चुक्दा स्विटजरल्यान्डको युरोकप यात्रा समाप्त भएको हो । यो जीतसँगै तीनपटकको युरोकप विजेता स्पेनले इटालीसँग सेमिफाइनलको यात्रा तय गरेको छ ।

युरोकप २०२० को दुइ वटा क्वाटरफाइनलका खेलहरु आज हुँदैछन।

आजको पहिलो खेल चेक रिपल्बिक र डेनमार्कबिच बेलुकी ९.४५ बजे हुनेछ ।

यसैगरी, दोस्रो खेल मध्यराति१२.४५ बजे युक्रेन र इङल्यान्डबीच हुँदैछ ।।