केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका माग तत्काल सम्बोधन गर्न सभापति देउवाको निर्देशन

काठमाडौं– पार्टी भित्रको महत्वपूर्ण आन्तरिक विषयमा सहमति जुटाउन नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको संयुक्त बैठक बसेको छ ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका माग तत्काल सम्बोधन गर्न निर्देशन दिनु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकमा पार्टी सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गरि सहमति खोज्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा। रामशरण महतलाई जिम्मेवारी दिनु भएको छ ।

बैठकमा कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराउनुभएपछि सभापति देउवाले शुक्रबार नै उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिनु भएको हो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहित तीन नेता पाँच दिनदेखि आमरण अनशनमा छन् । कांग्रेस पदाधिकारी बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशिल सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्नु भएको छ।