काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति सार्वजनिक गरेको हो । यस अघि एन्फाले शीर्ष लिग असोज ३ गतेबाट सुरु गर्ने जनाएको थियो । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । साथै एन्फाले लिग खेल्न सवै क्लब सहमत भएको पनि जनाएको छ ।

एन्फाले पुरस्कार राशिमा वृद्धि गर्दै यस वर्ष लिग विजेताले ७५ लाख रुपैयाँ पाउने घोषणा गरेको छ । त्यसैगरी उपवेजताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछ । मछिन्द्र क्लब लिगको साविक विजेता हो ।