काठमाडौं– गृह मन्त्रालय अन्तर्गतका निकायले तेस्रो चौमासिकमा करिब ७२ प्रतिशत बेरुजु फर्स्यौट गरेका छ । आज भएको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको प्रगति समीक्षा बैठकमा १०० प्रतिशत लक्ष्य राखेको मन्त्रालयले ७१ दशमलब ९१ प्रतिशत वेरुजु फर्स्यौट भएको जानकारी दिएको हो ।
समिक्षा बैठकमा दिइएको जानकारी अनुसार पछिल्लो एक बर्षमा सडक दुर्घटनामा परी २५ सय ११ को मृत्यु भएको छ भने २५ हजार ७१ जना घाइते भएका छन् । त्यस्तै मुलुकभर रहेका चार हजार चार सय ७९ कैदी बन्दी मध्य एक सय ४७ जना विदेशी कैदी बन्दी रहेका छन् ।
सरकारले गत आर्थिक बर्षमा झापा, तेह्रथुम, खोटाङ र मनाङमा राष्ट्रिय परिचयपत्र वितरण सम्पन्न गरेको छ । त्यस्तै एक करोड जनालाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्य राखेपनि जम्मा ३० लाख ५० हजार जनालाई मात्र वितरण गरेको तथ्याङ्क छ । यसरी कोरोना संक्रमणका कारण कतिपय काम तोकेभन्दा कम भएपनि समग्रमा प्रगति अवस्था सन्तोषजनक रहेको गृहमन्त्री बालकृष्ण खाँडले बताउनुभयो । उहाँले गृहमन्त्रालय अन्तर्गतको काम अभावमा तर निरन्तर गर्ने प्रकृतिको भएको भन्दै उच्च मनोबलका साथ काममा दत्त चित्त भएर लाग्न निर्देशन दिनुभयो ।
बैठकमा हालसम्म पाँच सय ३९ स्थानीय निकायले सामाजिक सुरक्षा भत्ता बैकमार्फत भुक्तानी गर्न थालेको, सबै कुटनीतिक नियोगबाट पञ्जीकरण सम्बन्धी काम गर्ने प्रकृया अघि बढाएको, चार हजार ३२ वटा वडा कार्यालयबाट घटना दर्ताको कामलाई अनलाइन मार्फत गरिरहेको उल्लेख छ ।
बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागले आफ्नो चौमासिक प्रतिवेशन प्रस्तुत गरेका थिए ।