काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले संवैधानिक आयोगहरुमा विशिष्ट श्रेणीको कर्मचारी सचिव प्रमुख रहने गरी दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधबार पत्रकारहरुसँग आयोग कार्यालयमा भएको भेटघाटमा अध्यक्ष अन्सारीले संविधान अनुसार बनेका आयोगमा सचिवको नेतृत्वमा निजामति कर्मचारी खटाउन माग गर्नुभएको हो ।

अन्सारीले अन्य मन्त्रालयसँग सहज ढंगले कार्य सम्पादन गर्न पनि सचिवस्तरको दरबन्दी आवश्यक भएको उल्लेख गर्नुभयो । हाल समावेशी आयोगहरुमा सहसचिव प्रमुख रहने व्यवस्था छ ।

अन्सारीले आयोगहरुले सम्पर्क मन्त्रालयको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तोकिदिन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।