अफगानिस्तानको राजधानी काबुलस्थित अमेरिकी राजदूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरतमध्ये ११८ नेपालीहरू उद्धारपछि मङ्गलवार बिहान काठमाण्डू आइपुगेको अधिकारीहरूले बताएका छन्।
उनीहरूलाई अहिले नेपाली सेनाले राजधानीको सामाखुसीस्थित एउटा आइसोलेशन केन्द्रमा लगिएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बीबीसीलाई बताए।
अमेरिकी सेनाले उनीहरूलाई उद्धार गरेर काबुलबाट कुवेत पठाएको र त्यहाँबाट उनीहरू नेपाल आइपुगेको बताइन्छ।
परराष्ट्र मन्त्रालयले उनीहरू कुवेत हुँदै चार्टर्ड विमानबाट काठमाण्डू आइपुगेको जनाएको छ।
नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको उद्धारलाई आफूले प्राथमिकतामा राखेको भन्दै त्यसका लागि परराष्ट्र मन्त्रालयको मध्यएशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा एउटा कार्यदल गठन गरिएको जनाएको थियो।
फर्किनेहरूको उद्धार कसले गर्यो?
नेपाली सेनाका प्रवक्ता पौडेलका अनुसार उद्धार गरिएका नेपालीहरू एक दिनअघि कुवेत पुगेका थिए। उनीहरू मङ्गलवार बिहान जजिरा एअरलाइन्सको विमानबाट स्वदेश फर्किएका हुन्।
उनले भने, “उहाँहरू सवा १० देखि १० बजेको बीचमा नेपाल आइपुग्नुभएको हो। हामीले नेपाली सेनालाई दिइएको जिम्मेवारी अनुसार तेस्रो देशबाट फर्किएकाहरूलाई विमानस्थलबाट आइसोलेशन केन्द्रमा लिएर गएका छौँ।”
उनले अब ती व्यक्तिहरूको आवश्यक कागजपत्रको परीक्षण गरिने, कोरोनाभाइरसको एन्टिजन जाँच गरिने र प्रक्रिया पुर्याएर होम आइसोलेशनमा जाने मिल्नेगरी व्यवस्था गरिने उल्लेख गरे।
उनले भने, "अहिले हामी उहाँहरू कुन अवस्थामा आउनुभएको छ त्यो सबै बुझिरहेको छौँ। परिस्थितिको विश्लेषण पनि गर्नुपर्यो। घर फर्किनेसहित बाँकी चिज पछि हुन्छ।”
अमेरिकी राजदूत र्यान्डी बेरी उनीहरूलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
"काबुलस्थित अमेरिकी मिशनमा कार्यरत हाम्रा साथीहरू तथा गठबन्धनका सहकर्मीहरूसँग काम गर्नुभएका नेपालीहरूमध्ये पहिलो उडानमार्फत् आउनुहुनेलाई सकुशल काठमाण्डूमा स्वागत गर्न पाउनु हाम्रो लागि सम्मानको विषय हो," काठमाण्डूस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।
"हामी यहाँहरूको सुरक्षा लगायतको सेवाको लागि अत्यन्तै कृतज्ञ छौँ। धेरै धन्यवाद।"
परराष्ट्र मन्त्रालय के भन्छ?
परराष्ट्र मन्त्रालयले समाजिक सञ्जाल ट्विटरमार्फत् अफगानिस्तानबाट नेपाली नागरिक फर्कने क्रम सुरु भएको जनाएको छ।
उसले ११८ जना नेपालीहरू कुवेतबाट चार्टर्ड विमानमा फर्किएको उल्लेख गरेको छ।
उक्त विमानमा नौ भारतीय नागरिक पनि आएको जानकारी बीबीसीले प्राप्त गरेको छ।
उद्धार गरिएका १२७ जनामध्ये एकजना महिला भएको बुझिएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा झन्डै १,४०० नेपाली रहेको आफूसँग जानकारी रहे पनि स्पष्ट सङ्ख्या थाहा नभएको बताउँदै आएको छ।
परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा कार्यरत नेपालीहरूको विवरण सङ्कलनको कामअघि बढाएको जनाएको छ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा व्यवस्था गरिएको छ।
मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर र ह्वाट्सएपबाट पनि सुविधा दिने बताएको छ।
त्यस्तो सेवा लिनका लागि कन्सुलर सेवा विभागको मोबाइल नम्बर +977-9749326458 र +977-9749326459 को व्यवस्था गरिएको छ।