काठमाडाैं । हिमालयन बैंक र डाइनर्स क्लब इन्टरनेसनलबीच सम्झाैता भएकाे छ । बैंक र चार्ज कार्ज कम्पनी डाइनर्सबीच डाइनर्स क्लब कार्ड जारी तथा स्विकार गर्ने तथा डाइनर्स क्लब इन्टरनेसनल, डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने सम्बन्धी सम्झौता भएकाे हाे ।
याेसँगैं हिमालयन बैंकले डाइनर्स क्लब कार्ड चाँडै नै आफ्नो कार्ड नेटवर्कमा स्विकार गर्नेछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबराले हिमालयन बैंकले डाइनर्स क्लब अन्तराष्ट्रिय आफ्नो क्रेडिट कार्ड जारी तथा स्विकार गर्ने संजालमा सामेल गर्न पाउँदा खुसी भएकाे बताए । उनले चाँडै नै डाइनर्स क्लब अन्तराष्ट्रिय कार्ड आफ्ना कार्ड संजालमा सामेल हुने हुँदा बैंकले निकट भविष्यमै आफ्ना मर्चेन्टलाई बढीभन्दा बढी प्रसिद्ध अन्तराष्ट्रिय कार्डहरु स्विकार गर्ने क्षमता प्रदान गरेको बताए ।
बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १४६ ए टि एम तथा ५ हजारभन्दा बढि पस टर्मिनलहरुमा स्विकार गराउने लक्ष्य लिएको छ । यसबाट डाइनर्स क्लब अन्तराष्ट्रिय, डिस्कभर्स र त्यसका भारत, दक्षिण कोरिया, ब्राजिल, टर्किका गठबन्धन संजालबाट जारी भएका कार्डका धारकहरु नेपाल भ्रमण गर्दा हिमालयन बैंकको एटिएम तथा पस टर्मिनलका संजालमा प्रयोग गर्न सक्नेछन् । त्यसका साथै दोश्रो चरणमा बैंकले उक्त कार्डहरु नेपालमा नै स्थानीयहरुका लागि जारी गर्नेछ ।
डिकभर्स ग्लोबल संजालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रिय निर्देशक यानी झाङ्गले हिमालयन बैंकसँगको सहकार्यले नेपालमा उक्त कार्ड स्विकार हुन सुरु हुँदा आफ्नो उपस्थिति आफ्ना पार्टनरहरुका आशा बमोजिम अन्तराष्ट्रिय बजारमा बढाउँदै गएको बताए । भारत, चीन, जापान, कोरियाको नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ ।
नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हो । यस्तै हिमालयन बैंक नेपालमा अमेरिकन एक्स्प्रेस ब्राण्डको कार्ड जारी तथा स्विकार गर्ने एकमात्र साझेदार हो ।