काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल नेपालको ४ दिन लामो राष्ट्रिय सम्मेलन अध्यक्षसहितका पदाधिकारी नछानी सकिएको छ । यो राष्ट्रिय भेलाबाट २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा भएको छ। त्यसबाहेक अध्यक्ष, महासचिव, उपाध्यक्ष र कोषाध्यक्षसहितका पद विवादका कारण वाईसीएलले चयन गर्न सकेन ।
सम्मेलनले २३१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेपछि बाँकी १० प्रतिशत अर्थात २३ जना केन्द्रीय सदस्य पछि मनोनीत गर्ने गरी भेला सकिएको हो। यो सम्मेलन सकिएपछि अबको पाँच दिनभित्रमा निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक राखेर पदाधिकारी छानिने भएको छ।
त्यो बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु उपस्थित भएर पदाधिकारीको टुंगो लगाउने निर्णय भएको निवर्तमान कोषाध्यक्ष राहुल महराले बताएका छन् । केन्द्रीय कमिटी घोषणा गरेको वाईसीएलका पदाधिकारी मातृ पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'सहितले केन्द्रीय कमिटी बैठकबाट टुंगो लगाउने भएका छन् । अध्यक्ष दाहालसहितको प्रत्यक्ष उपस्थितिमा नवगठित केन्द्रीय समितिले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने भएको छ।
वाईसीएलका केन्द्रीय प्रचार विभाग प्रमुख पुष्प ओलीले भेलामा केन्द्रीय कमिटी सदस्यहरुको नाम वाचन गरिएको छ। ओलीले पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीबाट टुंगो लगाउने बताएका छन् । रामप्रसाद सापकोटा 'दीपशिखाले विदा लिएपछि वाईसीएलको न नेतृत्वमा महासचिव सुबोधराज शेर्पाली र उपाध्यक्ष सुमन देवकोटाले दाबी गरेका थिए। त्यस्तै यशोदा न्यौपाने पनि अध्यक्षको दाबेदारमध्ये एक थिइन्।
वाईएसीएलमा देखिएको विवाद मिलाउन सोमबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अध्यक्ष नेतृत्व छान्ने जिम्मेवारी दिएको थियो। यसअघि सोमबार अध्यक्ष दाहालकै गृहजिल्ला चितवनमा देवकोटालाई नयाँ अध्यक्ष बनाउने तयारी थियो। तर प्रचण्डको उक्त तयारीमा पनि वाईसीएलको माथिल्लो पंक्तिले असहमति जनाउँदा अब केन्द्रीय कमिटी मात्रै घोषणा भएको हो।
सोमबारको स्थायी समितिले अध्यक्ष छान्ने जिम्मा प्रचण्डलाई दिएपछि नेतृत्वका आकांक्षीसहितको एउटा टोली मंगलबार बिहान खुमलटार पुगेको थियो । खुमलटारको छलफलमा हाललाई केन्द्रीय समिति मात्रै घोषणा गर्ने गरी बन्दसत्र अघि बढाउन दाहालले निर्देशन दिएका थिए। दाहालको उक्त निर्देशन अनुसार केन्द्रीय सदस्य मात्रै घोषणा गर्ने गरी रोकिएको बन्द सत्र अघि बढाइएको थियो।