पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पिउसो भएको टिप्पणी गरेका छन्। नेकपा एमाले कास्कीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै ओलीले हालै एमाले छोडेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी खोलेका नेपालले एमालेसँग मुकाबला गर्ने सपना देखेको बताए ।
'जिल्ला अध्यक्ष बनाइदिम्ला, नगर अध्यक्ष बनाइदिम्ला भनेर हिँडेका छन् । चुनावमा टिकट पाएर के भो ? जित्ने एमाले नै हो, कांग्रेस हामीसँग लड्ने आँट गरेको छैन । माधव नेपाल त पिउसो हुन् । उम्रन पाएको छैन एमालेसँग मुकाबला गर्ने सपना देख्छन्', उनले भने ।
अहिले एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भएको र त्यसको अगुवा माधव नेपालले गरेको आरोप पनि उनले लगाए । तर पार्टीका युवापंक्ति देखेर आफ्नो हौसला बढ्ने गरेको ओलीले सुनाए । 'कहिलेकाहीँ लाग्छ, दुनियाँ उल्टिएर लागेको छ, के होला ? जब म प्रकाशको गतिमा बढेका युवा देख्छु आत्मबल बढ्छ,' उनले थपे, 'जब चुलोचौकोमा समस्या हुँदा दिदीबहिनी आन्दोलनमा देख्छु मलाई हौसला बढ्छ ।'
पार्टीभित्र पदलोलुप प्रवृत्ति हावी भएकाले फुटको समस्या भएको बताउँदै ओलीले आफू नेतृत्वको सरकारले विश्वले देख्ने गरी काम गरेको समेत ठोकुवा गरे । 'पदलोलुप प्रवृत्ति हावी हुँदा जनता, सुशासन र विकासका बारेमा छलफल नगर्ने । विकासमा उनीहरुको रुची थिएन,' उनले थपे, 'नेकपा एमालेको सरकारले विश्वले देख्ने गरी काम गर्यो । थुप्रै विकास निर्माण र पुननिर्माणको काम अघि बढायौँ ।'