काठमाडौं । संवैधानिक इजलास रोक्ने न्यायाधीश हरि फुयाँलको आदेशपछि अन्योलग्रस्त बनेकाे पृष्ठभूमिमा प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाले भोलि (सोमबार) बेन्च-बार समन्वय समिति बैठक बोलाएका छन् ।
सोमबार साढे ३ बजे प्रधानन्यायाधीश राणाको कार्यकक्षमा बेञ्च-बार समन्वय समितिको बैठक बस्ने तय भएकाे सर्वाेच्च बार एसाेसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बताए । बेन्च-बार समन्वय समितिमा प्रधानन्यायाधीशको नेतृत्वमा सर्वोच्च अदालतबाट ५ जना न्यायाधीश, महान्यायाधिवक्ता तथा नेपाल बार एसाेसिएसनका तर्फबाट चार जना गरी १० सदस्य छन् ।
बारका तर्फबाट नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू तथा वरिष्ठ अधिवक्तासमेत रहेका हरिहर दाहाल, शम्भु थापा, वर्तमान अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य सदस्य छन् ।
बैठककाे मिति र समय तोकिएपनि एजेण्डा भने तोकिएको छैन । सर्वोच्च बार एसोसिएसनका अध्यक्ष शाक्यले भने, 'समसामयिक विषयमा छलफल गरिने मात्र भनिएको छ । यकिन एजेण्डा तोकिएको छैन । बहस खुला हुन्छ हाेला ।' संवैधानिक इजलास गठनको विवाद, न्यायालयमा भएको विकृति विसंगतिबारे न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनबारे छलफल हुनसक्ने सम्भावना रहेको शाक्यले बताए ।
यसअघि नेपाल बार एसोसिएसनकाे सल्लाहकार समितिले यही विषयमा २० र २२ भदौमा दुई दिन छलफल गरेको थियो । बैठकमा १९ जना अधिवक्ताहरूमध्ये पूर्वमहान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता रविनारायण खनाल र वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले मात्र न्यायाधीश फुयाँलले गरेको आदेशलाई सही भनेका थिए । बाँकी १६ जनाले उक्त आदेश गलत भएको बताएका थिए ।
वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, शेरबहादुर केसी, कृष्णप्रसाद भण्डारी, हरिशंकर निरौला, एकराज भण्डारी, सुरेन्द्र महतो, पूर्व महान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ताद्वय बाबुराम कुँवर, मुक्तिनारायण प्रधान, अधिवक्ता टीकाराम भट्टराईलगायतले आदेश गलत भएको बताएका थिए ।
सल्लाहकार कमिटीको बैठकमा बहुसंख्यक वकिलले फुयाँलको आदेशको विरोध गरे पनि बारले यस विषयमा अझै औपचारिक धारणा बनाइसकेकाे छैन । १७ भदौमा न्यायाधीश फुयाँलको इजलासले एमिकस क्युरीसमेत झिकाएककाे छ । तर, बारले यस विषयमा पनि निणर्य गरेको छैन ।