काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ ३० गतेभित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेर प्रतिनिधि सभाको बैठक असोज ४ गते सम्मका लागि किन सारियो भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने बताएको छ। एमाले महासचिव ईश्वर पोखरेलले बुधबार एक विज्ञप्ति जारी गर्दै समाभुख र सरकारको तर्फबाट प्रतिपक्षको सहमतिबिना नै संसदको काम कारबाही अघि बढाउने काम भइरहेको बताएका छन् ।
‘आफूलाई इच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ,’ पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चाल मात्र हो।
सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा (एमाले) खेद व्यक्त गर्दछ।’आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुन पुगेको एमालेले जनाएको छ।
‘लामो तयारीपछि ल्याइएको प्रतिस्थापन विधेयकले बजेटरी सिद्धान्त र वित्तीय अनुशासनलाई समेत उल्लंघन गरेको छ। त्यसले विकास बजेटमा कटौती गर्ने र अनुत्पादक क्षेत्रमा खर्च बृद्धि गर्ने गलत बाटो अवलम्बन गरेको छ,’ पोखरेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सन्तुलित विकासको अवधारणाअनुरुप प्रतिनिधिसभाका सदस्यहरूको आग्रहमा अघि बढाएको निर्वाचन क्षेत्रस्तरीय रणनीतिक सडक र पालिका जोड्ने पहुँच मार्गलगायतका १४०० भन्दा बढी विकास आयोजना कटौती गर्नपुगेको छ। साथै, सरकारले अनिवार्य दायित्वभित्र पर्ने वित्त व्यवस्थापनको बजेट कटौती गर्ने गैरजिम्मेवापूर्ण काम गरेको छ।’
बजेटजस्तो संवेदनशील विषयमा सरकारले उदासिनता र गैरजिम्मेवार रवैया देखाएको भन्दै पोखरेलद्वारा जारी विज्ञप्तिमा त्यसप्रति खेद व्यक्त गरिएको छ। साथै, प्रमुख प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण पनि विज्ञप्तिमार्फत गराइएको छ।