काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १०औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
सदरमुकाम कुश्मामा पर्वत, बागलुङ र म्याग्दीका पत्रकारको आज सम्मेलन गरी उहाँले यही असोज २८ देखि ३० गते काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा जन्मिएर हाल बेलायतमा व्यवसाय गरेका आचार्यले यसअघि एनआरएनएका विभिन्न पदमा रहेर काम गर्नुभएको छ । सन् २००३ देखि गैरआवासीय नेपाली सङ्घको अभियानमा आबद्ध आचार्य गैरआवासीय नेपाली सङ्घ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभएको थियो ।
त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा सङ्घको उपाध्यक्ष बन्नुभएको थियो । सङ्घको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग १४७ मतान्तरले पराजित हुनुभएको थियो । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष डा बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
सुस्तामा विद्यालय, जुम्लामा प्रसूतिगृह, शङ्खमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खोल्नेलगायतका कामको अगुवाइ गरेका आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीको भावनाअनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिबद्धता जनाउनुभयो ।
उम्मेदवारी घोषणाका क्रममा आचार्यले जन्मथलो धाइरिङको किराखोरका पहिरोपीडितको पुनःबासका लागि रु १० लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न रु एक लाख ५० हजार व्यक्तिगत सहयोग गर्ने जानकारी गराउनुभयो ।-