काठमाडौं । एकीकृत समाजवादीले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ। यही ३०१ भित्र पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य हुने जानकारी दिइएको छ । बिहीबार गरिएको कार्यविभाजनअनुसार पोलिटब्यूरो सदस्यमा ७१ जना र स्थायी कमिटीमा ३५ जना सदस्य रहने भएका छन् ।
माधव नेपाल अध्यक्ष रहेको पार्टीको वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने नेता र बेदुराम भूसाल महासचिव चयन भएका छन्। यसैगरी उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ शाह र जयन्ती राई चयन भएका छन् ।
उपमहासचिवमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधार र डा विजय पौडेल गरी तीनजना छन् । चार सचिवमा नागेन्द्र चौधरी, जग्गनाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री छन्। केन्द्रमा सात उपाध्यक्ष भएपनि अन्य सवै कमिटीमा दुई उपाध्यक्षको व्यवस्था गरिएको बताइएको छ।
समाजवादीले महिला तथा युवा सहभागिता सुनिश्चित गर्न भन्दै पार्टी कमिटीमा एक तिहाइ महिला, युवा ४० प्रतिशतका हाराहारीमा समेट्ने सचिव खतिवडाले जानकारी दिएको छ। पार्टीले तीन महिनाको कार्ययोजना बनाएको छ। पार्टीको प्रचार गर्ने, दक्षिणपन्थी विचलनवादको भण्डाफोर गर्ने र वडातहसम्मका कमिटी तीन महिनाभित्र गठन गर्ने भनिएको छ। यसैगरी हरेक प्रदेश क्षेत्रको एकजना गरी केन्द्रीय परिषद् ७०१ सदस्यीय गठन गरिने भएके छ।
केन्द्रमा अनुशासन, निर्वाचन र लेखा आयोग रहनेछन्। हरेक आयोगमा ३५ सदस्य रहनेछन्। विभाग २५ सदस्यीय गठन गरिने बताइएको छ। यसैगरी सल्लाहकार कमिटी १५१ सदस्यीय र ज्येष्ठ कम्युनिष्ट मञ्च १५१ सदस्यीय गठन गर्ने जनाइएको छ।