काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । दिउँसो १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छलफल शुरू हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
हिजो ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेस गरिने तीन वटा प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएको थियो । सोमबार बसेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संसोधनसम्बन्धी प्रतिवेदन हिजो बसेको केन्द्रीय कमिटी बैठकमा पेश गरिएको थियो ।
प्रतिवेदनमाथि छलफल गर्न ७ वटा प्रदेशस्तरीय भौगोलिक समूह, जनसंगठनलाई हेर्न पार्टीका इन्चार्जहरूको एक समूह, विभागीय प्रमुखहरूको समूह र प्रदेशमा सम्पर्क कमिटीहरू, उपत्यका विशेष कमिटीहरू,लगायतका समूहहरूलाई हेर्न अर्को समूह निर्माण गरेको थियो । एमालेको विधान महाधिवेशन ललितपुर गोदावरीस्थित सम्मेलन हलमा १५–१७ असोजमा हुँदैछ ।
त्यस्तै, एमाले केन्द्रीय कमिटी बैठकमा पार्टी एकतावद्ध बनाउन गरिएको १० बुँदे सहमति अनुसार २०७५ जेठ २ को कमिटी र जिम्मेवारी कार्यान्वयन नभएको भन्दै तेस्रो धारका केही नेताले असन्तुष्टि जनाएका छन् ।
१० बुँदे कार्यान्वयनको विषय पनि जारी बैठकको एजेण्डा बन्नु पर्ने उपाध्यक्ष भीम रावलको प्रस्ताव र सबै कमिटीलाई पूर्ववत पुर्याउनु पर्ने झपट रावल, भानुभक्त जोशी, सुरेन्द्र मानन्धर लगायतको मागमा संस्थापन पक्षले सकारात्मक जवाफ दिएको छ । तर, जारी बैठकमा ती विषय एजेण्डा बन्न नसक्ने अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिएपछि असन्तुष्ट समूहले पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने भएको छ ।