प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षभित्र सबै नेपाली नागरिकलाई कोरोनाभाइरसको खोप उपलब्ध गराउने धारणा राखिरहँदा विज्ञहरूले खोपको उपलब्धता र खोप लगाउने नागरिकको इच्छाशक्तिले मात्रै उक्त लक्ष्य पूरा हुनसक्ने बताएका छन्।
अघिल्लो साता अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजन गरेको कोभिड-१९ सम्बन्धी शिखर बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्रीले लक्षित जनसङ्ख्यामध्ये करिब आधाले एक मात्रा खोप पाइसकेको बताएका थिए।
एक चौथाइभन्दा बढी लक्षित जनसङ्ख्याले खोपको पूर्ण मात्रा लगाएको उल्लेख गर्दै उनले खोपको थप एक करोड मात्रा खोप सुनिश्चित गरिएको धारणा राखेका थिए।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुखले प्रधानमन्त्रीले घोषणा गरेको लक्ष्य पूरा गर्न सकिने आधारहरू रहेको टिप्पणी गरेका छन्।
तर एक विज्ञले खोपको उपलब्धता सुनिश्चित गर्दै खोप अभियानमा बाँकी जनसङ्ख्यालाई अहिले छुटेका व्यक्तिहरूलाई आकर्षित गर्नु चुनौतीपूर्ण रहेको बताएका छन्।
घोषित लक्ष्य पूरा हुने आधारहरू
आइतवारसम्मको तथ्याङ्क अनुसार ६० लाख ३६ हजारभन्दा बढी नेपालीले पूर्ण मात्रा खोप लगाइसकेका छन् भने ६६ लाखभन्दा बढीले पहिलो मात्रा लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा खोप दिनुपर्ने लक्षित जनसङ्ख्या दुई करोड १७ लाखभन्दा बढी छ।
त्यसमा १२ वर्षभन्दा माथिका उमेरका बालबालिका पनि समेट्दा खोप लगाउनुपर्ने जनसङ्ख्या बढेर दुई करोड ३२ लाख पुग्ने बताइन्छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालले खोप खरिदमा भएका प्रगति र सुनिश्चित भइसकेका खोप सरकारी लक्ष्य पूरा गर्ने प्रमुख आधार भएको बताए।
उनी भन्छन्, "खोप खरिद गर्न जुन क्रियाकलापहरू गरेका छौँ र पाइपलाइनमा खोप आउँछ भनेर बसेका छौँ त्यो खोपको आधार नै हो। अहिलेको घोषणा तथ्यपरक नै छ।"
दाहालका अनुसार चीनबाट आएको खोपले अहिले सञ्चालन भइरहेको खोप अभियान सम्पन्न हुँदा थप २२ लाखले खोप लगाउने उल्लेख गर्दै त्यस बेलासम्म पूर्ण मात्रा लगाउनेको सङ्ख्या लक्षित जनसङ्ख्याको ३७ प्रतिशत पुग्ने छ।
उनले पुस महिनासम्म झन्डै ८७ लाख १७ हजार खोप नेपालमा आइपुग्ने बताए।
उनी भन्छन्, "भारतबाट प्राप्त गर्ने १० लाख खोपसँग सँगै चीनले अनुदानमा दिने भनेको १६ लाख खोप, रेडक्रसबाट आएको एक लाख खोप र हामीले किन्न पैसा तिरिसकेको ५९ लाख भेरोसेल खोप पुससम्म आउँछन्।"
"यसका लागि हामीले सबै प्रक्रिया पूरा गरिसकेका छौँ।"
ती खोप आउँदा थप ४३ लाख व्यक्तिहरूले खोप लगाउने र लगभग दुईतिहाइ जनसङ्ख्यालाई पुस मसान्तसम्ममा खोप दिने लक्ष्य नजिक पुगिने उनको भनाइ छ।
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई दिइने भनिएको खोप पनि आगामी चैत महिनासम्म दिन थाल्ने लक्ष्य सरकारले राखेको छ।
त्यसका लागि विश्व ब्याङ्कबाट प्राप्त सहयोगमा मोडेर्ना खोप खरिद गरिएको छ भने फाइजर खोप खरिदका लागि पनि छलफल अघि बढिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।
दाहालले भने, "अहिलेको सम्भावित खोपमध्ये फाइजर र मोडेर्ना बालबालिकालाई दिन मिल्ने भनिएको छ। हाम्रो हकमा मोडेर्नाको खोप आउने निश्चित छ।"
"फाइजरसँग कुराकानी भइसकेको छ र कोभ्याक्स सुविधाबाट प्राप्त हुने खोपहरूलाई सबैलाई हेरेर १२ वर्ष भन्दा माथिका सबैलाई खोप दिन सकिन्छ भन्ने हाम्रो विश्वास हो।"
विश्व ब्याङ्कको सहयोगमा खरिद गरिएको ४० लाख मात्रा मोडेर्ना खोप गाभीमार्फत् वितरण गरिने छ।
सो खोप आगामी चैत महिनासम्ममा नेपालमा आइपुग्ने अपेक्षा गरिएको विश्व ब्याङ्कले बताउने गरेको छ।
अघिल्लो साता बीबीसीसँग कुरा गर्दै मन्त्रालयका सहप्रवक्ताले बालबालिकालाई लक्षित गरिएको खोप पुस मसान्तभित्र नेपाल आइपुग्न थाल्ने बताएका थिए।
विज्ञ के भन्छन्?
खोपसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेती सरकारी लक्ष्य पूरा हुने या नहुने खोपको उपलब्धतामा निर्भर हुने बताउँछन्।
उनले भने, "अहिले हेर्दा दसैँतिहारको समयपछि पूर्ण मात्रा लगाउनेको सङ्ख्या लक्षितमध्ये एकतिहाइको नजिकै पुग्छ। पुससम्म दुईतिहाइ र चैतसम्म सबैलाई दिने भनिएको छ।"
"अहिले एक करोड मात्रा खोप सुनिश्चित भएको भनिएको छ र यही स्थितिमा शतप्रतिशतलाई खोप उपलब्ध गराउन सजिलो छैन।"
उनले उच्च जोखिम भएका जनसङ्ख्यामा खोप लगाउने काम सम्पन्न भएपछि मात्रै बालबालिकालाई खोप दिनुपर्ने सुझाव विश्व स्वास्थ्य सङ्गठनले दिएको भन्दै डा. उप्रेती एउटा समूहलाई खोप दिइसकेर मात्रै अर्कोलाई थाल्नुपर्ने बताउँछन्।
उनले थपे, "फाइजर र मोडेर्ना खोप आउने बित्तिकै हामीले बच्चालाई खोप दिन थाल्ने बित्तिकै सुरुमा उच्च जोखिम भनेर हामीले निर्धारण गरेको जनसङ्ख्याको ७१ प्रतिशत मध्येबाट मानिसहरू छुट्न जान्छन्।"
"मैले प्राथमिकताबाट अन्यत्र नलगौँ भन्ने सुझाव दिएको थिएँ।"
डा. उप्रेतीका अनुसार गएको वर्ष कोरोनाभाइरसका कारण ज्यान गुमाउने मध्ये धेरै ५५ वर्षका माथिका थिए।
खोप अभियानको सञ्चालनसँगै पछिल्लो समयमा बढी जोखिम ४० वर्षको उमेर समूहलाई देखिएको उनी बताउँछन्।
अहिलेसम्म विभिन्न कारणले खोप नलगाएका ज्येष्ठ नागरिकहरू सहितको उमेर र प्राथमिकता समूहका र निम्न वर्गका मानिसहरूलाई लक्षित गर्दै जनचेतानात्मक अभियान चलाउनु आवश्यक रहेको पनि उप्रेतीको भनाइ छ।
नेपालले हालसम्म भारतमा उत्पादित कोभिशील्ड, जापान र स्वीडेनमा उत्पादित अस्ट्राजेनेका, चीनमा निर्मित भेरोसेल र अमेरिकामा उत्पादित जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याएको छ।
आफ्नो देशबाट एक करोड मात्रा खोप व्यावसायिक रूपमा खरिद गरेको नेपाललाई चीनले कम्तीमा ३४ लाख मात्रा खोप अनुदान दिएको छ।
आफ्नो देशमा कोभिड सङ्कट चुलिएपछि भारतले गएको मार्चको मध्यतिर खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो।
अघिल्लो साता नयाँ दिल्लीले अक्टोबर महिनाबाट खोप निर्यात अभियान पुन: सुरु गर्ने बताएको छ।