जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने लोसपाको माग छ ।
मुख्यमन्त्रीले राजीनामा दिएर अख्तियारलाई अनुसन्धान गर्न दिनुपर्ने लोसपा सांसद परमेश्वर साहले बताए । उनका अनुसार २० गतेको प्रदेशसभाको बैठक यही माग राखेर अवरुद्ध गरिने निर्णय भएको छ । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिन २० गते प्रदेशसभाको बैठक बोलाइएको छ। सत्तारूढ जसपा फुटेपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।