काठमाडौं– सञ्चार तथा सूचना प्रवधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गजेन्द्रबहादुर हमाललाई नेपाली कांग्रेसको तर्फबाट नियुक्ति गरेको भन्दै प्रधानन्यायाधीशसँग जोडेर विभिन्न सञ्चार माध्यममा आएका कुराहरुमा कुनै सत्यतता नभएको प्रष्ट पार्नु भएको छ ।

मन्त्रिपरिषद विस्तार पछि बसेको बैठकका निर्णयहरु सार्वजनिक मन्त्री कार्कीले नेपाली कांग्रेसमा उहाँको योगदानको कदर गर्दै प्रधानमन्त्रीले उक्त जिम्मेवारी दिनुभएकोले भ्रममा नपर्न आग्रह गर्नुभएको हो । आजको बैठकले सार्वजनिक खर्च मितव्ययी बनाउने मापदण्ड स्वीकृत गर्नुका साथै मन्त्रिपरिषदका समितिहरुको पुनर्गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आजको बैठकले सरकारको प्रवक्ताको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीलाई तोकेको छ । उहाँ यसअघि पनि सरकारको प्रवक्ता रहनुभएको थियो ।

मन्त्रिपरिषद विस्तारका क्रममा प्रधानन्यायाधीशले भाग मागेको भन्ने कुराको सरकारले संसदमा पनि खण्डन गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसरी खण्डन गर्नुभएको हो । सांसद प्रेम सुवालले उठाउनुभएको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री कार्कीले प्रष्टीकरण दिँदै प्रधानन्यायाधीशका लागि मन्त्री पद भाग लगाइएको कुरा सत्य नभएको बताउनुभयो ।