चितवन- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताउनुभएको छ । उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उहाँले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताउनुभएको हो ।
“सरकारले हिजो मात्रै पूर्णता पाएको छ । सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो । हिजोदेखि दुर्घटना टर्यो,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु । सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।”
देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उहाँले जोड दिनुभयो, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ । राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।”
अध्यक्ष दाहालले भन्नुभयो, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ । यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।” निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिनुभयो ।
कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।
उहाँले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताउनुभयो ।
उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराउनुभएको थियो भने प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गर्नुभएको थियो । सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ ।
मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलतः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताउनुभएको छ ।
चितवनमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उहाँले गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउनुभएको हो । अध्यक्ष दाहालले यो विषयमा होहल्ला गर्नु आवश्यक नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसको आफ्नै मान्छे हो, आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक छैन ।” सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै उहाँले सांसद नभएका व्यक्तिलाई छ महिनासम्म मन्त्री बनाउने व्यवस्था संविधानमै छ भन्नुभयो ।
“यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ”, उहाँले भन्नुभयो, “यो नयाँ कुरा होइन ।” अध्यक्ष दाहालले पहिलो पटक प्रतिनिधिसभाको विघटन हुँदा सेटिङसेटिङ भन्ने चर्चा भएको उल्लेख गर्दै मानिसलाई त्यही भन्न मन लागेर भनेका होलान, तर यहाँ सेटिङ छैन भन्नुभयो ।
“सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको छ”, उहाँले भन्नुभयो, “जनताको जीवनरक्षा गर्ने सरकारको पहिलो प्राथमिकता हुन्छ ।” अध्यक्ष दाहालले आफूहरुले सुरुदेखि नै खोपखोप भन्दै आएको बताउँदै खोपको व्यवस्थापन र जनतालाई राहत दिने कुरा प्राथमिकतामा पर्ने धारणा राख्नुभयो । उहाँले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउने र थाती रहेका विधयेकलाई अगाडि बढाउने कुरा पनि सरकारको प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।
लिपुलेक, कालापानी, लिम्पियाधुराको विषय हिजो पनि केपीको कर्म नभएर आफूहरुको कर्म भएको बताउँदै उहाँले भन्नुभयो, “लिम्पियाधुरा, कालापानीको विषय उठाएर संसद्मा लानुपर्छ भन्ने हामी थियौँ । अहिले पनि सरकारको साझा नीति कार्यक्रममा समावेश गरेका छौँ ।”
अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनविना एमसिसी पास नहुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय सहमति र परिमार्जनविना यो पास हुन सक्दैन ।” संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।” संसद् अवरोधमा कुनै तर्क र तथ्य नरहेको बताउनुभयो ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले आगामी निर्वाचनमा चितवन जस्तो जिल्लामा गठनबन्धन भएर जाने बताउनुभयो । उहाँले भन्नुभयो, “चितवन जस्तो जिल्लामा हामी समझदारीका साथ निर्वाचनमा जान्छौँ ।”