काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपालमा छिट्टै महिला प्रधानमन्त्री हुने विश्वास व्यक्त गर्नुभएको छ ।
काठमाडौंमा शनिबार भएको साक्षात्कारमा मन्त्री रेग्मीले नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने र त्यो समय आइरहेको बताउनुभयो । ‘हाम्रो देशमा महिलाहरु राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश पनि हुनुभयो । अब प्रधानमन्त्री हुन महिला तयार भएर आउँछन् । कसैले धकेलेर हुँदैन् । यो दिन टाढा छैन्,’ उहाँले भन्नुभयो ।
नेपालमा प्रधानमन्त्री बन्न योग्य महिलाहरु धेरै रहेको मन्त्री रेग्मीको भनाइ छ । उहाँको भन्नुभयो, ‘महिला कार्यकारी प्रमुख भएर पुगे भ्रष्टाचार कम हुन्छ । तर, महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । प्रधानमन्त्री बन्नको लागि त महिलाहरु पनि यो रेसमा दौडिनुपर्छ । स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ ।’
मन्त्री रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता र पछिल्लो समय पीडित भएकोले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री बनाएको स्पष्ट पार्नुभयो ।
मन्त्रिपरिषदमा महिला उपस्थिति संवैधानिक व्यवस्थाअनुसार नभए पनि उल्लेख्य रहेको मन्त्री रेग्मीले बताउनुभयो । ‘२५ जनाको क्याबिनेटमा ३३ प्रतिशत पुग्नको लागि ८ जना महिला मन्त्री हुनुपर्दथ्यो । तर, अहिले हाम्रो ६ जनाको मात्रै उपस्थिति छ,’ उहाँको भनाइ छ ।