काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन्। पूर्व पत्नी मिना ढकालसँग डिभोर्स भएको चार वर्षपछि गजुरेलले सोमबार दोस्रो विवाह गरेका हुन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका हुन्। उनले मन्जु पोखरेलसँग विवाह गरेका हुन्।
सोमबार बिहान डोलेश्वर महादेव मन्दिरमा गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका हुन् । पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् ।
बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा सोच्नेबेला सहयात्रीको अभाव खड्किएकोले वैवाहिक जिवनमा बाँधिएको उनको भनाई छ ।
‘जीवन सधैँ सरल रेखामा नहिंड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्षपहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ ।
त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ ।
’ गजुरेलले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु(नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो ।
यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो ।
बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो ।
एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’