काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्नेछ ।
हिजो बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा तय दसौँ राष्ट्रिय महाधिवेशन बुटवलबाट चितवनमा सार्ने निर्णय गरेको थियो । जसका लागि रामबहादुर थापा ‘बादल’को नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।
शनिबार वडा अधिवेशन सुरु हुने कार्यतालिका रहेका बेला स्थायी कमिटी बैठक बस्न लागेको हो । तर, बाढीपहिरोको चपेटामा परेका वडाको अधिवेशन सारिने भएको हो ।
यस्तै, आजको बैठकमा १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्नेछ । उपाध्यक्ष भीम रावल संयोजक रहेको कार्यदलले १० बुँदे सहमति कार्यान्वयन गर्न मापदण्ड तय गरिसकेको छ । यो कार्यदलको बैठक बिहीबार पनि बसेको थियो ।
रावलको नेतृत्वमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव द्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।
माधव नेपालको साथ छाडेर एमालेमै बसेका १० नेताले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाए पनि एमाले प्रवक्ता प्रदीप ज्ञवाली भने अस्वीकार गर्छन् । उनले एमालेले १० बुँदे सहमति ९७ प्रतिशतभन्दा बढी कार्यान्वयन भइसकेको दाबी गरे ।