काठमाडौं । प्रतिनिधिसभाको कार्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरे ।
सभामुखले सांसदहरुको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रस्तुत गरे । सांसद झलनाथ खनाल, कर्मा घले र प्रदीप गिरी बिरामी भएर १३ वटा बैठकमा अनुपस्थित भएको सूचना सभामुखले प्रस्तुत गरेपछि सभाले स्वीकृत गर्यो ।
यसैबीच, प्रमुख प्रतिपक्ष एमालेले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो सवा २ बजे बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु आ–आफ्नो आसनबाट उठेर वेल अगाडि नाराबाजी गर्न पुगेका थिए ।
उनीहरुले संसदीय मर्यादा कायम गर्, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद, कालोधन वैधानिक बनाउन पाइँदैन, गैर सांसदलाई निषेध गर जस्ता नारा लगाएका थिए ।