लन्डन– जलवायु सम्मेलनमा भाग लिन बेलायत आइपुग्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा लन्डनमा विभिन्न भेटवार्तामा व्यस्त रहनुभएको छ । उहाँसँग भेट गरेका सांसद, नेपालका शुभचिन्तक र गैरआवासीय नेपालीहरुलाई प्रधानमन्त्रीले नेपालमा लगानी बढाउन आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको माथिल्लो सदन हाउस अफ लर्डसका सदस्य स्वराज पल र लेडी शेखबीच शिष्टाचार भेट भएको छ । बेलायतस्थित नेपाली राजदूतावासमा भएको भेटमा उहाँहरूबीच नेपाल–बेलायत सम्बन्ध थप सुदृढ गर्ने सम्बन्धमा छलफल भएको थियो । द्विपक्षीय सम्बन्धका जानकार बेलायती सांसदले दुई देशबीच सम्बन्ध प्रगाढ तुल्याउन आफूहरूबाट सबै किसिमको सहयोग रहिरहने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँहरूले बेलायतको संसदमा नेपालका समस्या र सहयोग गर्ने विषयमा आवाज उठाउँदै आउनुभएको छ ।
प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्ध विस्तारका साथै त्यसलाई प्रवर्द्धन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै बेलायत सरकारबाट निरन्तर प्राप्त सहयोको सराहना गर्नुभएको थियो । यही कात्तिक १५ र १६ गते स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिने सिलसिलामा रहनुभएका प्रधानमन्त्री आज दिनभर उच्च भेटवार्तामा रहनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल–बेलायत समाजका पदाधिकारीहरूले भेटवार्ता गर्नुभएको छ । नेपाली राजदूतावासमा आज भएको भेटमा उहाँहरूले समाजले लामो समयदेखि द्विपक्षीय सम्बन्ध प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र त्यसलाई अझ प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष एन्ड्रयु स्पार्क नेतृत्वको टोलीले नयाँ पुस्ताका बेलायतीलाई नेपाल भ्रमणमा अभिप्रेरित गराउन र नेपालप्रति सदभाव बढाउन केही नयाँ ढङ्गले काम गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएको थियो । प्रधानमन्त्री देउवाले समाजका गतिविधिबारे जानकारी लिँदै नेपालको गौरव र गरिमा बढाउन सक्रियातापूर्वक लाग्न समाजलाई आग्रह गर्नुभयो ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा बैदेशिक लगानी भित्राउन एनआरएन सँग आग्रह गर्नु भएको छ । एनआरएन युके शाखा सँगको भेटमा प्रधानमन्त्री देउवाले बैदेशिक लगानी भित्राउनका लागि लगानी कर्तालाई आवश्यक सुविधा दिन सरकार तयार रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सबैको सहयोगमा नेपाली जनतालाई चैत भित्र कोरना खोप लगाइसकिने योजना भएकाले देश विकासका काममा सहयोग गर्न आग्रह गर्नुभयो ।
नागरिकता लगायत एनआरएनका समस्याका विषयमा प्रधानमन्त्री देउवाले राजनीतिक दलको सहमती र संसदबाट पारित गर्नुपर्ने भएकाले सबै मिलेर जानु पर्नेमा जोड दिनुभयो । एनआरएन युके शाखाका संरक्षक शेरबहादुर सुनारले भुतपूर्व गोर्खा सैनिकको समस्या सामाधानका लागि विशेष पहल गरिदिन अनुरोध गर्नुभयो ।
एनआरएन युके शाखा अध्यक्ष प्रेम गाहा मगरले नेपालमा लगानीमैत्री वातावरण बनाउन आग्रह गर्दै एनआरएनलाई नागरिकता र प्रवेशाज्ञाको समस्या सामाधान गरिदिन अनुरोध गर्नु भएको थियो ।