अष्ट्रिया सरकारले देशमा कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि हिजो मध्यरातिदेखि लागू हुने गरी देशव्यापी लकडाउनको घोषणा गरेको छ ।

यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिहरू बाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

सरकारी अधिकारीहरूले कोभिड–१९ सङ्क्रमणबाट बढ्दो मृत्यु बारेमा चिन्ता व्यक्त गरेका छन् । साथै अवस्था बिग्रिँदै गए अस्पतालहरूले सङ्क्रमितको उपचार गर्न समेत कठिन हुने बताएका छन् ।

कोभिडबाट सुरक्षाका लागि नागरिकहरुलाई खोप लगाउन बारम्बार आग्रह गर्दा पनि खोप लगाउन आनाकानी गरेकाले उनीहरुका लागि लकडाउन गर्न आवश्यक भएको बताइएको छ ।

करिब ९० लाख जनसङ्ख्या भएको अस्ट्रियामा लकडाउनका कारण झण्डै बीस लाख मानिसहरू प्रभावित हुनेछन् । लकडाउन सुरुमा १० दिनसम्म रहने छ ।

यसबीचमा प्रहरीहरूले नागरिकहरूले खोप लगाए नलगाएको सुनिश्चित गर्न गस्तीमा जानेछन् । खोप नलगाएका व्यक्तिहरूले प्रतिबन्धहरूको पालना नगरेमा १,४५० युरो सम्म जरिवाना गर्न सकिने बताइएको छ ।-