चितवन– चितवनमा आजदेखि सुरु भएको नेकपा एमालेको महाधिवेशनलाई विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।
एमालेको १० औं राष्ट्रिय महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरुले सम्बोधन गर्नुभएको छ । महाधिवेशन उदघाटनमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई बोलाइएको थिएन, तर माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल नभइ स्थायी कमिटी सदस्य लीलामणि पोखरेल पठाइएको थियो ।
एमालेको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक संविधानलाई संस्थागत गर्न एमालेले जिम्मेवारपूर्वक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । ‘हामीले नयाँ संविधान ल्याएका छौं, संस्थागत गर्ने जिम्मेवारी नेपाली राजनीतिक दललाई छ,’ उहाँको भनाइ थियो, ‘संविधानको संस्थागतका लागि योगदान गर्न एमालेलाई अनुरोध गर्दछु ।
राजनीतिक दलहरुबीच फरक मत हुनु स्वभाविक रहेको बताउँदै प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मुल्य मान्यतालाई संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सबै दलको लक्ष्य हुनुपर्नेमा जोड दिनुभयो । ‘देश र जनतासित जोडिएका विषयमा निरन्तर संवाद सहकार्य आवश्यक छ, हामीबीच निरन्तर छलफल हुनुपर्छ, संविधानमार्फत टुंगो लगाउने र स्वीकार गर्ने पद्धति बसाल्नुपर्छ,’ उहाँको भनाइ थियो । प्रधानमन्त्रीले सरकारले कोभिड १९ को खोपको लक्ष्य हासिल गर्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले केही फरक मान्यता र परिवेशले माओवादी केन्द्र र एमाले अलग हुन पुगेको बताउनुभयो । उहाँले तत्कालीन नेकपामा रहँदा देखिएका फरक मान्यता र परिवेशले माओवादी र एमाले अलग हुन पुगेको उल्लेख गर्नुभयो ।
राजनीतिक दलहरूको एकताले मुलुकमा निरंकुश राजतन्त्र अन्त्य भएको स्मरण गराउँदै उहाँले नेपाल कम्युनिष्ट आन्दोलनमा जनताको विश्वास रहेको भए पनि नेताहरूमा भएका संकीर्णताले असर गरेको बताउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देश र जनताका लागि पनि एमालेको महाधिवेशन ऐतिहासिक होस् भनेर शुभकामना दिनुभएको छ । राजनीतिक दल देश र जनताप्रति प्रतिबद्ध रहेका भन्दै उहाँले एमालेको आगामी नेतृत्वले देश र जनताको पक्षमा काम गरेर ऐतिहासिक बन्न सकोस् भनेर शुभकामना दिनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभयो । उहाँले तराई–मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा समेत सहभागी सो कार्यक्रममा उहाँले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
राप्रपा अध्यक्ष कमल थापाले दुई पटक सरकारको नेतृत्व गरेको एमाले सरकारले सम्झनलायक धेरै काम गरेको भन्दै आगामी दिनमा मुलुकको विकास र समृद्धिका लागि योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताउनुभयो ।