काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विगत र विरासत दुबै क्रान्तिकारी भएको उल्लेख गर्दै अब नयाँ जनवादी क्रान्ति गर्नुपर्ने बताएका छन् । माओवादीले देशभर गरिरहेको पालिका अधिवेशनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन अवस्थामा नेकपा रहँदादेखि केपी शर्मा ओलीविरुद्ध थालिएको संघर्ष अझै जारी रहेको पनि बताएका छन् ।
नेकपा एकताको सहमति तोडेर ओली गुट बाहिरिएपछि समस्या सुरु भएको उल्लेख गर्दै उनले भने, 'हामीबीच त्यसबेला आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको थियो। तर ओली गुट त्यसबाट बाहिर गएपछि नै समस्या भएको हो। त्यसबेला नेकपाको ठूलो बहुमत थियो। तर ओलीले बेइमानी गरे। त्यहीकारण उनलाई पार्टीबाट निष्कासन समेत गरेका थियौं।' उनले ओलीलाई कारबाही गरेको अवस्थामा पार्टीभित्रको कुारालई लिएर विभाजनको नयाँ नाटक गरिएको पनि गुनासो गरे।
उनले थपे, 'हामी समाजवादी क्रान्ति बढाउन चाहन्छौँ। तर ओलीका कारण त्यो सम्भव थिएन। ओलीलाई हटाउन अनेक प्रयास गर्यौं। अविश्वासको प्रस्ताव हाल्यौँ, साधारण सदस्यबाटै हटायौँ तर जालझेल भइरह्यो। अन्तिममा असार २८ को परमादेशपछि हामी विजयी भयौं।' उनले अहिलेको अधिवेशन नै नयाँ जनवादी क्रान्तिको तयारीका लागि भएको उल्लेख गर्दै थपे, 'अहिलेको अधिवेशन नयाँ जनवादी क्रान्तिको सुरुवात हो। एमालेको तथाकथित अधिवेशनसँग हाम्रो तुलना हुन सक्दैन।' 'अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन्। हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन। भ्रम दिने कोशिस मात्रै छ,' उनले थपे, 'तथाकथित अधिवेशन हो, त्यो। तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं। ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन।’
दाहालले आफूहरुले कहीँ न कहीँ त्रुटी गरेकैले कुरो बिग्रिएको पनि बताएका छन्। उनले माओवादीको विगत र विरासत दुवै क्रान्तिकारी रहेको पनि जिकिर गर्दै भने, 'माओवादी त्याग, तपस्या, वीरता र बलिदानले भरिपूर्ण छ। विचार र प्रवृत्ति पनि क्रान्तिकारी छ। यस बीचमा क्रान्तिकारी सक्रिय हुनुपर्ने हो। जति सक्रिय र व्यवस्थित हुन सकिएन। अब सक्रिय हुनुपर्छ।' प्रचण्डले पार्टीको हेडक्वार्टरमा सुझाव र आलोचना पठाएर राष्ट्रिय सम्मेलनलाई वैचारिक संश्लेषणको थलो बनाउन कार्यकर्तालाई आग्रह गरे।