नेकपा (एमाले)को १०औं महाधिवेशन निर्वाचनसँग सम्बन्धित बाँकी प्रक्रिया आज (सोमबार) बिहानसम्मका लागि स्थगित गरिएको छ । उम्मेदवारी मनोनयनलगायतका बाँकी सबै प्रक्रिया अब सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
यसअघि निर्वाचन आयोगले मनोनयनसम्बन्धी प्रक्रिया हिजाे पूरा गरी राति सवा २ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।
आयोगले कार्यतालिका संशोधन पनि गरेको छ । आज राति ९ बजेबाट मतदान भई भाेली ३ बजेसम्म जारी रहनेछ ।
निर्वाचन सम्बन्धी प्रक्रिया स्थगित गरेपछि अध्यक्षका दाबेदार डा. भीम रावलले आजै मनोनयन दर्ता गराउन सकेनन् । अब उनले आज मनोनयन दर्ता गराउनुपर्नेछ ।
आइतबार राति नै मतदाता नामावलीदेखि उम्मेदवारीको काम सक्ने गरी प्रकाशन गरेको निर्वाचन कार्यतालिका तत्कालै संशोधन गरिएको थियो । पछिल्लो कार्यतालिका अनुसार बिहान ८ बजेदेखि ९ ः २० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ ।
यस्तै ८ बजेदेखि बिहान ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए ।
बिहान १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुनेछ । यस्तै बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ ।
बिहान १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।
एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा केपी ओलीलाई दिइएको थियो । अध्यक्ष ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका थिए ।
उनले १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरे ।
उनले प्रस्ताव गरेका नाममा महाधिवेशन प्रतिनिधिले ताली बजाएका थिए । यद्यपि केन्द्रीय सदस्यमा निर्वाचित हुनका लागि निर्वाचनको प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
एमाले नेता भीम रावल र घनश्याम भुसाल निर्वाचनको पक्षमा छन् । उनीहरुले केपी शर्मा ओलीको सर्वसम्मतको प्रयासलाई अस्वीकार गरेका छन् ।
एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था रहेको छ ।