काठमाडौं– मन्त्रिपरिषद् बैठकले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण मुलुकबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धि आदेश जारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वृद्धि तथा उत्थनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० अर्ब ३९ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। त्यस्तै नेपाल विद्युत प्राधिकरण कृष्णनगर चन्द्रौटा प्रशाखा कार्यालय भवन निर्माणको लागि आवश्यक जग्गा प्राप्ति गर्न स्वीकृत प्रदान गरेको छ।
सरकारले२०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिबाट भर्चुअल रुपमा आयोजना हुनलागेको लोकतन्त्र सम्बन्धि शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले नेपाल सरकार र युनडीपी बीच सम्पन्न भएको स्टान्डर बेसीस एसिस्टेनस् एग्रीमेन्ट लागू गर्न परराष्ट्र मन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई कुटनीतिक नोट पठाउन स्विकृति प्रदान गरेको छ।
बैठकले हेलेज प्रशोधित घाँसको व्यवसायिक उत्पादन गरी चीन निर्यात गर्ने उद्देश्यले नेपाल र जनवादी गणतन्त्र चीनबीच सम्झौताका लागि तयार परिएको प्रोटोकल स्विकृति प्रदान गरेको छ।
त्यसैगरी चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ रेडियो सञ्चार लाइसेन्स पाँचौ संशोधन नियमावली २०७८ र प्रहरी नवौ संशोधन नियमावली २०७८ स्विकृति गरेको छ।
सरकारले राजपत्रांकित विशिष्ट श्रेणीका १० जना सचिवहरुको सरुवा गर्ने निर्णय पनि बैठकले गरेको छ ।