बैतडी- बैतडीको पाटन नगरपालिका- १ सकारमा हिजो साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

पाटन नगरपालिका १ सकारकी ४० बर्षीया जानकी भट्टराईको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका- ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा कच्ची सडकबाट करीब ४ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्नया गाउँपालिका ४ का २४ बर्षीय प्रेम चुनारा र उनकी श्रीमति २० बर्षीया मनिषा विक, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

मनिषा र प्रेमले १० दिन अघि मात्रै विवाह गरेर पाटन नगरपालिका- ७ स्थित ससुराली गइरहेका थिए ।

दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये दुईजनालाई डडेल्धुरा रेफर गरिएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्द विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

जिप चालक बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका खेमराज पाण्डे भने फरार रहेका छन् । कच्ची बाटोमा जिप चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।-