काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न अभियोगमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचलका नायब सुब्बा दुर्गाप्रसाद पोखरेलसहित अन्य दुई जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

नायब सुब्बा पोखरेलले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत बनाउन आएका सेवाग्राहीलाई अनलाइन फर्म भर्न बिचौलियासम्म जान बाध्य बनाउने गरेको पाइएको आयोगले जनाएको छ ।

त्यस्तै, बिचौलियाको भूमिका निर्वाह गर्दै आएका देखिएको खेमप्रसाद काफ्ले र राजेश पोखरेललाई १३ हजार २ सय ९२ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी आयोगले सुर्खेतको पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले पातालगैरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हरि दमाई, कोषाध्यक्ष खड्गप्रसाद जैसी र सचिव पूर्णिमा शाह सिंहविरुद्ध १८ लाख ७७ हजार रुपैयाँबराबरको बिगो भराउन माग गर्दै मुद्दा दायर गरेको छ ।-