अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताउनुभएको छ ।

आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति बाइडनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्यहरुका लागि सहयोग कोष जारी गर्नुभएको छ ।

शुक्रबार रातिबाट शुरु भएको आँधीका कारण हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मैनबत्ती कारखानामा कयौं कामदार फसेकाले मृतकको संख्या १ सय नाघ्न सक्ने अनुमान गरिएको छ ।

मेफिल्डको मैनबत्ती कारखानामा रहेका १ सय १० जना कामदार मध्ये ४० जानको उद्दार गरिएको छ । आँधीका कारण कारखानामा फसेका कामदारको खोजीमा आपतकालीन टोली नै खटाइएको छ ।

आँधीका कारण दशौं हजार मानिस पानी र विद्युत सेवाबाट वञ्चित भएका छन् । केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीका कारण क्षतिग्रस्त भएका छन् । मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ ।-