काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान सुरु भएको छ ।
मंगलबार दिउँसो साढे ३ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु भएको हो । पहिलो चरणमा भएको मतदानमा बढी मत ल्याउने दुई प्रतिस्पर्धी वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच मात्रै अब प्रतिस्पर्धा हुने छ ।
प्रधानमन्त्री तथा सभापति पदका उम्मेदवार शेरबहादुर देउवाले खसालेसँगै मतदान सुरु भएको हो । सभापतिका अर्का प्रत्यासी शेखर कोइराला पनि मत खसाल्नुभएको छ ।
मतदान आज साँझ साढे ७ बजे नै सकिने र राति अबेरसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा। शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।