काठमाडौं- प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभयो र बैठकमा स्वागत गर्नुभयो । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा छ अध्यादेश पेश
प्रतिनिधिसभाको आजको बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन अध्यादेश, २०७८’सहित विभिन्न छ अध्यादेश पेश भएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नुभयो । मन्त्री बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो । मन्त्री बडूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गर्नुभयो ।

एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक अबरुद्ध गर्दै आएको छ । प्रतिनिधिसभाको अर्काे बैठक आगामी पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।

प्रक्रियाभित्र रहेर असहमति राख्न सभामुखको आग्रह
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गर्नुभएको छ ।

सभाको १०औँ अधिवेशनको पहिलो बैठकमा नारावाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सँधै नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराउनुभयो । जनप्रतिनिधिहरुको सर्वाेच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न उहाँले आग्रह गर्नुभयो ।

सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराउनुभयो ।

तत्पश्चात् सभामुखले लोकतन्त्र र गणतन्त्र स्थापनामा शाहदत प्राप्त गर्ने शहीदप्रति एक मिनेट मौन धारण गर्न आग्रह गर्दा भने प्रमुख प्रतिपक्षका सांसद् मौन रहेका थिए । सभामुखले सभामुखको अनुपस्थितिमा सदनको कारबाही अघि बढाउन केही सांसद् मनोनयन गर्नुभयो । एमालेले भने उक्त सूचीमा आफूहरुले कुनै नाम नदिएको जनाएको छ । विरोधबीच बैठकमा कार्यसूची अघि बढाइएको छ ।