काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार भएको चरणको निर्वाचनको मतगणना राति १० बजेदेखि हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका सचिव एवम् अधिवक्ता केशव रिजालले राति १० बजेदेखि मतगणना हुने जानकारी दिनुभयो ।
कांग्रेसको दोस्रो चरणमा सभापतिका लागि पहिलो चरणमा सबैभन्दा बढी मत ल्याउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र डा। शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ ।
पहिलो चरणमा सभापति पदमा उम्मेदवारी दिनुभएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले प्रधानमन्त्री देउवालाई नै समर्थन गर्नुभएको छ ।
आज राति अबेरसम्म परिणाम आउने निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उहाँका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गर्नुभएको थियो । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो ।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।