इङ्लिस प्रिमियर लिग अन्तर्गत आज बिहान तय भएको तीन खेलहरुमा दुईवटा खेल मात्र सम्पन्न भएका छन् । एक खेल भने कोरोनाका कारण रद्द गरिएको छ ।

म्यानचेष्टर युनाइटेडका केही खेलाडीहरुमा कोभिड भएको पुष्टी भएपछि युनाइटेड र ब्रेन्टफोर्डबीच तय भएको खेल स्थगित गरिएको हो । यसअघि पनि टोटनह्यामका ६ जना खेलाडीहरुमा कोभिड देखिएपछि खेल स्थगित गरिएको थियो ।

आज बिहान सम्पन्न दुईवटा खेलहरुमा म्यानचेष्टर सिटीले लिड्समाथि गोलको वर्षा गरेको छ । आफ्नो घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले लिड्समाथि शुन्यका विरुद्ध सात गोलको सानदार जीत निकाल्दै अंक तालिकामा आफ्नो शीर्ष स्थानलाई यथावत राखेको छ ।

खेलको आठौं मिनेटमा फिल फोर्डेनको गोलबाट अग्रता लिन सुरु गरेको सिटीले स्ट्राइकर केभिन डे ब्रुनेको व्यक्तिगत दुई गोलसहित लिड्सलाई लज्जास्पद हार व्यहोर्न बाध्य बनाएको थियो ।

आजै बिहान सम्पन्न अर्को खेलमा एस्टन भिल्लाले नर्विचमाथि २-० गोलको जीत निकालेको छ । पुछारमा रहेको नर्विचमाथि उसैको घरेलु मैदानमा जीत निकाल्दै एस्टन भिल्ला नवौं स्थानमा उक्लिएको छ ।-