काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँको बूढानिलकण्ठस्थित बूढानिलकण्ठ स्कुलको निरीक्षण गरी त्यहाँका विद्यार्थीले पाइरहेको गुणस्तरीय र व्यावहारिक शिक्षाको स्थितिबारे जानकारी लिनुभएको छ ।

विद्यालय परिसरमा हरियाली साँग, बोटमा लटरम्म गोलभेडा, स्याउ, आरु, अलैँचीका बोट देखेपछि मन्त्री पौडेलले आफू कुनै कृषि फार्म पुगेको जस्तो महसुस गर्दै विद्यालय नेतृत्वको प्रशंसा गर्नुभयो ।

निजी विद्यालयमा आकर्षण बढिरहेका बेला सीपसहितको शिक्षाका लागि अनवरत रुपमा खटिएको अर्धसरकारीस्तरको आवासीय विद्यालय बूढानिलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ५ देखि १२ कक्षासम्म गरी हाल एक हजार १३५ विद्यार्थी छन् । विद्यालयले विद्यार्थीलाई विद्यालयको करेसाबारीमा साँझ बिहान कृषिको सीप पनि सिकाउने गर्दछ ।

मन्त्री पौडेलले, ‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिएको पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस् ।”-