काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्र राय यादवले विद्युत्‌मा आधारित मल कारखाना निर्माणका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।

हिजो आयोजित एक अन्तरक्रियामा उहाँले विद्युत्‌मा नै आधारित फ्याक्ट्री निर्माणका लागि जर्मनीसँग छलफल भइरहेको जानकारी दिँदै यस कार्यका लागि जर्मनी र थाइल्याण्डका कम्पनी इच्छुक रहेको बताउनुभयो ।

मन्त्री यादवले एक लाख मेट्रिक टन युरिया, दुई लाख मेट्रिक टन डिएपी र आठ लाख मेट्रिक टन पोटासिएम मलको आवश्यकता हुने बताउँदै मुलुकमा हुने मल अभावको समस्या समाधान गर्न विद्युत्‌ नै आधारित मल कारखाना आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

मुलुकमा मल कारखाना स्थापनाका लागि अहिले पनि लगानी बोर्डमा प्रस्ताव दर्ता भएको जानकारी दिँदै उहाँले करिब एक खर्ब २५ अर्ब लागत लाग्ने अनुमान गरिएको बताउनुभयो ।

देशको समृद्धिका लागि कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यावसायीकरण अनि औद्योगिकीकरण, मूल्य निर्धारण, भण्डारण र बजारीकरणको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिँदै मन्त्री यादवले कृषि क्षेत्रको विकासका लागि सरकारले बनाएको २० वर्षे योजनाअन्तर्गत कार्य गर्न बजेटको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।-