काठमाडौं । कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका छन् । यस काममा सबैको सकारात्मक सहयोग आवश्यक रहेको उनले बताएका छन् ।
२००७ सालको राजनीतिक क्रान्तिबाट प्राप्त सफलतामा टेकेर अघि बढ्दै जाँदा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको चर्चा गर्दै प्रधानमन्त्री देउवाले अब यसलाई संस्थागत गर्दै समतामुलक समाजको निर्माण गर्ने राष्ट्रिय दायित्व पूरा गर्नुपर्ने बताएका छन् ।
२००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ साल, २०६२/६३ को जनआन्दोलनलगायतका कारण राजनीतिक रुपमा देशले ठूलो फड्को मारेको र हामी स्वतन्त्र देशको सम्मानित सार्वभौम नागरिक भएको स्मरण पनि उनले गरेका छन् ।
२००८ सालपछि प्रजातन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा विशेष समारोह आयोजना गर्दै आएको छ । सरकारले फागुन ६, ७ र ८ गते तीन दिनसम्म दीपावली गरी विशेषरुपमा दिवस मनाउन आह्वान गरेको छ ।
प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । २००७ सालमा राजा त्रिभुवन र राजनीतिक दलहरूको संयुक्त प्रयासमा १०४ वर्षको जहाँनिया राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना गरिएको थियो ।
प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले वि.सं. १९९७ माघमा बलिदानी दिनु भएको थियो । प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनिहरूलाई तत्कालीन राणा शासकहरुले मृत्युदण्ड दिएका थिए ।