धनुषा- धनुषामा गोली प्रहारबाट एक युवक घाइते भएका छन् । जनकपुरधाम उप महानगरपालिका-१९ मा राति गोली चल्दा १८ वर्षीय मुकेश मुखिया घाइते भएका छन् । कमला नगरपालिका- ८ घर भएका मुकेश जनकपुरधाम १९ शिबपुरस्थित मामाघरमा बस्दै आएका थिए ।

उनका मामा भोगी मुखियाले संचालन गरेको किराना पसलमा ५-६ जनाको समूह बसेर कुराकानी गरिरहँदा एक्कासी उनीमाथि गोली प्रहार भएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

चिउँडोमा लागेको गोली मुखियाको घाँटीमा गएर अड्किएको छ । घाइते मुखियालाई राति नै उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

उनीमाथि पेस्तोलबाट गोली प्रहार गरिएको प्रहरीको भनाइ छ । पेस्तोल बरामद भइसकेको र गोली प्रहार गर्नेको पहिचान पनि भइसकेको डीएसपी बस्नेतले जानकारी दिनुभयो ।-