चितवन- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको छ ।
चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई÷दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षाका लागि र प्राप्त उपलब्धि जोगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ ।” कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उहाँको भनाइ थियो ।
भरतपुर महानगरपालिकामा कसरी अघि बढ्ने भन्ने विषयमा वार्ता र छलफल भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लास्तरीय नेताहरुले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन एउटा समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ ।”
स्थानीय निर्वाचनमा तालमेल आवश्यकता र औचित्यअनुसार गरिने उहाँको भनाइ छ । तालमेलका लागि जिल्ला तथा क्षेत्रमा संयन्त्र बनेको भन्दै उहाँले महानगरको विषयमा छिट्टै टुङ्गो लगाउने बताउनुभयो । अहिले कांग्रेस घोषणापत्र तयारी र गठबन्धनलाई कसरी अघि बढाउने भन्ने विषयमा लागेको उहाँले बताउनुभयो ।
तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा लागौँ
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा कांग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।
नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको हो ।
उहाँले सबैको क्रियाशीलतामा मात्र कांग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित रहको भन्दै केन्द्रदेखि गाउँसम्म अब विभाजित नभई निर्वाचनमा लाग्नुपर्ने बताउनुभयो । विगतको वर्ष कष्टकर रहेको भन्दै डा कोइरालाले नयाँ वर्षलाई उत्साह र एकताका साथ अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले पार्टीभित्र भएका मतभेद र मनभेदलाई पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जाने जनाउँदै पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध सङ्घर्ष गर्दै जाने बताउनुभयो । उहाँले नयाँ वर्षको सुखद् उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।