काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ ।
स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए । उनले अबको दशक सम्मुनतिको हुने बताए । जुन संकल्प पूरा गरिछाड्ने विश्वास पनि व्यक्त गरे ।
घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तावादको सूत्रपात’ भएको उल्लेख छ । एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे ।
घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।
कांग्रेस महामन्त्री थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।