काठमाडौं - २०२१ फेब्रुअरी महिनालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोडिनको कमीले हुने विकृति सम्बन्धी सचेतना जगाउने महिनाको रुपमा मनाउने भएको छ ।
मन्त्रालयले नुन थोरै मात्रामा खाऔं तर सहि मात्रामा आयोडिन भएको दुइृ बालबालिकाको चिन्ह भएको प्याकेटको नुन मात्र खाऔं भन्ने नाराका साथ आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले एक महिनाभर साल्ट ट्रेडिङ्ग कर्पोरेशनसँगको सहकार्यमा आयोडिन महिना मनाउन लागेको हो ।
यूनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको भएको कारण नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई आयोडिन मन्थ घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आएको छ ।
आयोडिन शारिरिक प्रक्रियाहरु सञ्चालन तथा विकास गर्न आवश्यक पर्ने एक खनिज तत्व हो । यो मानिसलाई दैनिक रुपमा थोरै मात्रामा चाहिने तर नभइ नहुने पोषक तत्व हो । यसको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिबल गोइटर सन १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झरेको हो ।
सरकारले २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ । भने सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालवालिकाले उपयूक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ ।
नेपालमा बर्षेनी २ लनाख टन नुन बिक्रि हुने गर्दछ । जसमध्ये ७५ प्रतिशत प्याकेट नुन र २५ प्रतिशत लुज नुन बिक्रि हुने गरेको छ ।
आयोडिनको कमीले गर्भ तुहिने, मृत शिशु जन्मने, अविकसित दिमाग, शारीरिक विकलन, बालबालिकामा हाइपोथाइराइडजिम, पढाइमा कमजोर, सुस्त मनस्थिती, शारीरिक कमजोरी हुने जस्ता विकृति देखिन सक्छन् ।
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतना मूलक सामग्री बितरण, प्रर्दशनी कक्ष (स्टल) राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्गले जनाएको छ ।
सरकारले विगत ५७ वर्ष देखी साल्ट ट्रेडिङ्गलाई देशभर आयोडिनयूक्त नूनको आपूर्तिकोे जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्गले ग्रामीणस्तर सम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुई बालबालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री बितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।