विदेशमा छु…..
फेसबुकको वालभरि रगतनै रगतले भरिएका
तस्बिर र भिडियो देख्छु!!
मन थरथर कामिरहेको छ..
आँसु बारम्बार झरिरहेको छ…
मलाई र तपाईंलाई त यत्ति मात्रै हो…
एकछिन हेर्यौं… पीर मनायो… अह् यस्तो भएछ है भन्यो
फेरि आफ्नै काम धन्दा…
तर ती बा–आमा जसले एक थप्पड नहानी हुर्काए,
उनकै उज्ज्वल भविष्यका लागि दिनरात नभनी काम गरे,
उनकै खातिर आफ्ना रहर गुमाए,
अझ भनौं
सन्तानकै लागि बाँचिरहे…
आफ्नो सन्तान एकछिन घर नफर्किंदा अत्तालिने मन
अहिले कस्तो भएको होला?
ती बा–आमालाई रगतको आहालमा आफ्नै
मुटुको टुक्रा देख्दा के भएको होला?
कल्पना गर्नसम्म गाह्रो भैरहेको छ…
हिजो मात्र खेलौना समातेर दौडिएका उनीहरु
आज निर्जीव बनेर ढलेका छन्
हिजो आमाको काखमा खेल्ने हात
आज रगतको आहालमा परेका छन्…
देश बन्ने अनि बनाउने
सपना देखेका उनीहरु
आज तीतो चीत्कारमा बदलिएका छन्,
सपना र भविष्य सँगै च्यातिएका छन्
देशको आकाश अझ कालो बनेको छ…
अब बा-आमाहरुले कसलाई हेर्ने, कसलाई कुरेर बस्ने,
मनको पीडा कसलाई सुनाउने, केका लागि बाँच्ने…??
बरु सबैलाई मारिदेऊ… यस्तो पीडा कसैलाई नदेऊ !!
होला १–२ जनाको राजीनामा आउला,
नयाँ सरकार आउला,
नयाँ वर्ष आउला,
नयाँ बसन्त आउला…
तर
आउने छैनन् बा–आमाका ती प्रिय सन्तानहरू,
आउने छैनन् ती मिठा आवाजहरू,
आउने छैनन् ती आशाका दियोहरू…
विदेशमा छु
स्तब्ध छु
अनि
निशब्द छु !!!
(लेखक नारायण खनाल हाल अमेरिकामा बस्छन )