काठमाडौं- नेपाल लगायत विश्वभर क्यान्सर रोगले भयावहरुप लिरहेको छ। नेपालको सन्दर्भमा क्यान्सर उपचार गराएका मध्ये ८६.५ प्रतिशतलाई उपचारमा आर्थिक कठिनाई देखिएको छ ।
नेपाल विकास अनुसन्धानले गरेको एक अनुसन्धानमा भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत २९४ क्यान्सरका बिरामीसँग गरेको अनुसन्धानमा औसतमा क्यान्सर उपचारमा तिन लाख अठासि हजार रुपैँया खर्च हुने देखिएको छ। यो खर्चलाई हेर्दा नेपाल सरकारले सहयोग गर्ने सो रकम निकै कम देखिन्छ। भक्तपुर क्यान्सर अस्पतालमा गरेको सर्वेक्षणमा ८६.५ प्रतिशतले आर्थिक कठिनाई भोगेका देखाएको छ । ८६.५ प्रतिशत मध्येमा ७८.५ प्रतिशतले उपचार खर्च जुटाउन ऋण लिएका थिए। जसमा ४८.५ प्रतिशत आफुसँग भएको सम्पती बेच्न बाध्य भएको देखाएको छ ।
क्यान्सरका बिरामी र मुटुरोगका बिरामीको सन्दर्भमा औषधि उपचार खर्चका लागी गरिब विपन्न वर्गका बिरामीलाई नेपाल सरकारले विपन्न नागरिक कोषबाट एक लाख रुपैँया नगद सहयोग गर्ने गर्दछ। नेपालमा ४८ देखि ६९ प्रतिशत स्वास्थ्य उपचार खर्च प्राय बिरामी आफैंले बेहोर्नु पर्छ ।
त्यस्तै, सुर्तिजन्य पदार्थको कारण क्यान्सर भएका १०३ जनासँग गरिएको अध्ययनमा क्यान्सरका बिरामीको उपचारमा एक परिवारले नौ लाख ८१ हजार ३७० रुपैया खर्च गरेको देखिन्छ । सो खर्चको ७३.५ प्रतिशत खर्च स्वास्थ्य खर्चमा हुने गर्दछ भने बाकिँ खर्च २७.५ खर्च बिरामीको कारण कामका जान नसकी आम्दानीमा हुने क्षतिका कारण हुने गरेको देखाएको छ । उक्त अध्ययनमा १४.५ प्रतिशत बिरामीहरुले उपचार खर्च आफैँले जुटाएका थिए भने १६.५ प्रतिशतले आफ्नो घर जग्गा बेचेका थिए । २७.५ प्रतिशतले उधारो लिएर उपचार खर्च जुटाएका थिए ।
नेपाल अर्बुद निवारण संघका केन्द्रिय सदस्य तथा डा. प्रदिप बैद्यका अनुसार क्यान्सर बनाउने मुख्य तत्वका रुपमा सूर्ति, धुम्रपान, हुक्का, इ- चुरोट , रेडिएसन , असुरक्षित यौन सम्पर्क र सूर्यको किरण रहेको बताए । उनले भने 'सूर्तिजन्य पदार्थ नै क्यान्सरको मुख्य कारण हो । चुरोटमा १२ किसीमका केमिकलहरु राखिएर तयार परिएको हुन्छ जो स्वास्थ्यका लागि निकै हानिकारक छ । धूमपान गर्नेले उडाएका धुवाँले विशेषगरी बालबालिका तथा गर्भवती महिलाको स्वास्थ्यमा बढी असर पर्ने गर्दछ ।'
क्यान्सर पत्ता लगाउन सबै भन्दा गाह्रो विषय बनेकाले जनचेतना फैलाउनु नै यो रोगबाट बच्ने उपाय रहेको डा. बैद्यले बताए ।
नेपाल अर्बुद निवारण संघका अनुसार नेपालमा वर्षेनि २६ हजार नयाँ क्यान्सरका बिरामी थपिएका छन् भने १७ हजारको मृत्यु भइरहेको छ ।