काठमाडौं । ठगी आरोपमा टोखामा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ पक्राउ परेका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको समस्या उपर कारबाही गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।
यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना युवाबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको छ ।
पीडितहरूको उजुरी र गुनासोको आधारमा म्यानपावरमा समाचार सङ्कलनका लागि गएका सञ्चारकर्मीमाथि केही दिन अघि यही म्यानपावरमा आक्रमण समेत भएको थियो । पक्राउ परेको म्यानपावरका सञ्चालक गुरुङमाथि थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका विभिन्न देशमा नेपाली नागरिकलाई अलपत्र पारेको भन्दै उजुरीहरू आउन थालेपछि मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरी नेपाल प्रहरीको समेत सहभागितामा दोषी उपर कारबाही गर्न थालिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय विभिन्न प्रलोभनमा पारी वैदेशिक रोजगारीमा लाने र अलपत्र पार्ने गरेको भन्दै इजाजत पत्र प्राप्त म्यानपावर, शैक्षिक परामर्शदाता संस्थाहरू, ट्राभल एजेन्सीहरू र विभिन्न बिचौलियाहरू विरुद्ध मन्त्रालयमा उजुरी परेका छन् ।
वैदेशिक रोजगारीको क्रममा अलपत्र परेको ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठेरोमा परेमा त्यस्तो समस्यामा पार्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याउन जानकारी दिन समेत मन्त्रालयले अनुरोध गरेको छ ।
त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयमा ९८२३२५६७०४, ९८२३२५६७०६ नम्बर सम्पर्क गर्न सकिन्छ भने मन्त्रालयको कल सेन्टरमा ९७७१५९७००८ वा ११४१ नम्बरमा २४ सैं घण्टा फोन गरेर आफ्नो समस्या र गुनासो टिपाउन अनुरोध गरिएको छ ।